नेपाल आर्मी क्लबले काँकडभिट्टा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
शुक्रबार भएको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो। यो आर्मीको वर्षको तेस्रो उपाधि हो ।
निर्धारित समय गोलरहित बराबरीमा टुङ्गिएपछि खेल पेनाल्टी सुट-आउटमा पुगेको हो । आर्मीका गोलकिपर विकेश कुथुले मनाङका अनिल गुरुङ, कमल श्रेष्ठ र निराजन मल्लको प्रहारलाई विफल पारेका थिए। आर्मीका जितेन्द्र कार्कीको प्रहार बाहिरिदा पदम तामाङको प्रहारलाई मनाङका गोलकिपरले विफल पारे।
उपाधिसँगै आर्मीले ८ लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता मनाङले ४ लाख रुपैयाँमै चित्त बुझायो ।