Home » अन्तर्राष्ट्रिय फुटबल » पटक–पटक विवादमा तानिने, रिसाहा रोनाल्डो

पटक–पटक विवादमा तानिने, रिसाहा रोनाल्डो

अर्जेन्टिनी फरवार्ड लियोनल मेसी र पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो वर्तमान पुस्ताका उम्दा फुटबलर हुन् । विश्वमा दुवै फुटबलरका करोडौँ समर्थक छन् । यी दुई खेलबीचको उत्कृष्टता मापनमा भने विश्व फुटबलका समर्थक विभाजित छन् ।

रोनाल्डोले कहिले–कहिलेरोनाल्डोले कहिले–कहिलेपाए रातो कार्ड ?

  • २००४ एस्टन भिल्लाविरुद्धको खेल (म्यानचेस्टर युनाइटेड)
  • २००६ म्यानचेस्टर सिटीविरुद्धको खेल (म्यानचेस्टर युनाइटेड) 
  •  २००७ पोर्टसमाउथविरुद्धको खेल (म्यानचेस्टर युनाइटेड) 
  • २००८ म्यानचेस्टर सिटीविरुद्धको खेल (म्यानचेस्टर युनाइटेड) 
  • २००९ अल्मेरियाविरुद्ध खेल (रियल म्याड्रिड)  
  • २०१० मालागाविरुद्धको खेल (रियल म्याड्रिड)
  • २०१३ एथ्लेटिको म्याड्रिडविरुद्धको खेल (रियल म्याड्रिड)
  • २०१४ एथ्लेटिका बिल्बाओविरुद्धको खेल (रियल म्याड्रिड)
  • २०१५ कोर्डाेबाविरुद्धको खेल (रियल म्याड्रिड)
  • २०१७ बार्सिलोनाविरुद्धको खेल (रियल म्याड्रिड)

रोनाल्डो (रियल म्याड्रिड) र मेसी (बार्सिलोना)
स्पेनका परस्पर विरोधी तथा चिरपरिचित प्रतिद्वन्द्वी क्लबबाट फुटबल खेल्छन् । त्यसो त दुईबीच मैदानभित्र र बाहिर राम्रो सम्बन्ध छैन । दुई महिनाअघि मेसीले आफ्नो विवाह समारोहमा विश्वका चर्चित फुटबलरलाई बोलाउँदा रोनाल्डोलाई सम्झेनन् । त्यसअघि रोनाल्डोले मेसी आफ्नो साथी होइनन् भनेर टिप्पणी गरेका थिए । पछिल्लो एक दशकमा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले प्रदान गर्ने उत्कृष्ट खेलाडीको अवार्ड यी दुई खेलाडीबीच नै घुमिरहेको छ । मेसीले पाँचपटक अवार्ड जितेका छन् भने रोनाल्डो चारपटक उत्कृष्ट चुनिएका छन् । पछिल्लोपटक रोनाल्डोले मेसीलाई पछि पारेर अवार्ड हात पारेका थिए ।


दुवै खेलाडी आफ्नो क्षमतामा अब्बल भए पनि मेसीको तुलनामा रोनाल्डो पटक–पटक विवादमा तानिने गरेका छन् । मेसी मैदानभित्र प्रायः शान्त रहन्छन् भने रोनाल्डो अधिकांश समय आक्रामक व्यवहार देखाउने गर्छन् । जुन व्यवहारले रोनाल्डोले महँगो मूल्य चुकाउनुपर्ने गरेको छ । आक्रामक व्यवहार देखाएकै कारण रोनाल्डोले क्लब करिअरमा अहिलेसम्म १० पटक रातो कार्ड पाएका छन् । रियल म्याड्रिडबाट ६ रातो कार्ड पाइसकेका रोनाल्डो इंग्लिस म्यानचेस्टर युनाइटेडमा खेल्दा चारपटक रातो कार्डको सिकार भएका थिए । अन्तर्राष्ट्रिय खेलमा भने रोनाल्डोले अहिलेसम्म रातो कार्ड पाएका छैनन् ।

पाँच खेल प्रतिबन्ध 
२०१७–१८ सिजनको सुरुवातमै रोनाल्डोले रेफ्रीप्रति अभद्र व्यहार देखाउँदा रोनाल्डोलाई पाँच खेलको प्रतिबन्ध लागेको छ । स्पेनिस सुपर कपको बार्सिलोनाविरुद्ध पहिलो लेगमा सब्सिच्युट खेलाडीका रूपमा मैदान छिरेका रोनाल्डोले गोल गरेर रियललाई अग्रता दिलाएपछि जर्सी फुकालेर आक्रामक सेलिब्रेसन गरे । त्यसपछि चेतावनी
स्वरूप रोनाल्डोलाई पहेँलो कार्ड देखाइएको थियो । लगत्तै जानाजान लडेर पेनाल्टी अपिल गरेको भन्दै रेफ्रीले रोनाल्डोलाई रातो कार्ड देखाएर मैदानबाहिर पठाए । रोतो कार्ड पाएपछि रिसले चुर भएका रोनाल्डोले रेफ्रीलाई धकेले । जुन व्यवहार खेल भवानाविपरीत भएको स्पेनिस फुटबल महासंघअन्तर्गतको प्रतियोगिता विभागले ठहर ग¥यो । सुपर कपको दोस्रो खेल गुमाएका रोनाल्डोले स्पेनिस ला लिगाका सुरुवाती चार खेल गुमाउँदै छन् ।

आक्रामक व्यवहार देखाएकै कारण रोनाल्डोले क्लब करिअरमा अहिलेसम्म १० पटक रातो कार्ड पाएका छन् । रियल म्याड्रिडबाट ६ रातो कार्ड पाइसकेका रोनाल्डो इंग्लिस म्यानचेस्टर युनाइटेडमा खेल्दा चारपटक रातो कार्डको सिकार भएका थिए ।

विपक्षीको मुखमा हातले धकेल्दा
गत सिजन रातो कार्ड पाएका रोनाल्डोले सन् २०१५ मा पनि रिस थाम्न नसक्दा दुई खेलको प्रतिबन्ध झेलेका थिए । २४ जुलाई २०१५ मा ला लिगाअन्तर्गत कमजोर मानिएको कोर्डाेबाविरुद्ध रियलले अपेक्षाकृत खेल प्रदर्शन गर्न सकेन । रेलिगेसनबाट बच्न संघर्षरत कोर्डाेबाले रियललाई अन्तिमसम्म बराबरीमा रोकिएको थियो । कोर्डाेबाविरुद्ध गोल गर्न लागतार चुकेपछि रोनाल्डोमाथि दबाब बढ्यो ।


यस्तोमा खेलको ८४औँ मिनेटमा टोनी क्रुसको फ्री किकलाई रोनाल्डोले छुन सकेनन् । क्रुसले फ्री किक प्रहार गर्नेक्रममा रोनाल्डोलाई कोर्डाेबाका डिफेन्डरले कडा निगरानी गरेका थिए । त्यसैको झोँकमा रोनाल्डोले कोर्डाेबाका सेन्ट्रर ब्याक जोस एन्जल क्रेस्पेलाई मुखमा हातले धकेले । त्यसपछि रेफ्रीले उनलाई रातो कार्ड देखाएर मैदानबाहिर पठाए । रातो कार्ड पाएपछि रोनाल्डो झनै क्रोधित बने । उनी मैदान नछाड्दासम्म चिच्याइरहे । फलस्वरूप रोनाल्डोलाई प्रतिबन्ध लगाइयो ।
सन् २०१४ को फ्रेबुअरीमा पनि रोनाल्डोले विपक्षी खेलाडीको मुखमा हात राखेर धकेल्दा रातो कार्डको सामना मात्र गर्नुपरेन, दुई खेलको प्रतिबन्धसमेत झेल्नुप¥यो । ला लिगाअन्तर्गत एथ्लेटिको बिल्बाओबिरुद्ध रियलले राम्रो खेल्न सकेन । खेल सकिन २० मिनेट बाँकी छँदा रोनाल्डोले बल खोस्ने क्रममा बिल्बाओका खेलाडीको मुखमा हातले धकेलेका थिए । त्यसपछि रोनाल्डोले बिल्बाओका कार्लाेस गुर्पेगी र आन्द्रे इतुराप्सेसँग वादविवाद गर्दै झगडा गरेका थिए । झगडा गरेपछि रातो कार्ड पाएका रोनाल्डोले मैदानबाहिर निस्कनेक्रममा पनि आक्रोशित व्यवहार देखाए । त्यसक्रममा रोनाल्डोले आफ्नै अनुहारमा पटक–पटक थप्पड हानेका थिए । जसकारण रोनाल्डोलाई थप दुई खेलको प्रतिबन्ध लगाइयो ।

बुटले नाकमा प्रहार 
सन् २०१३ को कोपा डेल रेको फाइनलमा रियल म्याड्रिड र एथ्लेटिको म्याड्रिडबीच प्रतिस्पर्धा भएको थियो । खेलमा एथ्लेटिकोले थप गरिएको समयमा गोल गरेर २–१ ले अग्रता लियो । त्यसपछि रियलका खेलाडी आक्रामक रूपमा उत्रन थाले । खेलका क्रममा एथ्लेटिकोका कप्तान गाबीले रोनाल्डोलाई छक्याएर अगाडिबाट बल नियन्त्रण लिए । तर, पछाडिबाट रोनाल्डोले बललाई होइन, गाबीलाई हिर्काए । गाबीको शरीर अँठ्याएर रोनाल्डोले बुटले नाकमा प्रहार गरेका थिए । त्यसपछि दुई क्लबका खेलाडीबीच तनावको स्थिति उत्पन्न भयो । रियल म्याड्रिडका तत्कालीन प्रशिक्षक जोसे माउरिन्होसमेत झगडामा गर्न अघि सरे । रेफ्रीले रोनाल्डोलाई रातो कार्ड देखाएर मैदानबाहिर पठाए । माउरिन्होलाई पनि अफिसियल बक्समा बस्न प्रतिबन्ध लगाइएको थियो । रोनाल्डोलाई कोपा डेल रेका थप दुई खेलमा समेत प्रतिबन्ध लगाइएको थियो । खेलमा पराजित भएको रियलले एथ्लेटिकोसँग पछिल्लो १४ वर्षमा खेलिएको पहिलो फाइनल गुमायो थियो ।

एकै सिजन दुई रातो कार्ड 
रोनाल्डोले सन् २००९–१० ला लिगा सिजनमा दुई रातो कार्ड पाए । सन् २००९ डिसेम्बरमा रोनाल्डोले अल्मेरियाविरुद्धको खेलमा रातो कार्ड पाए । २–२ को बराबरीको स्थितिमा रहेको खेलमा रोनाल्डोले पेनाल्टी मिस गर्दा रियलले अग्रता लिने अवसर गुमाएको थियो । तर, रोनाल्डोले लगातार दुई गोल गरेर रियललाई ४–२ को अग्रता दिलाए । अग्रता दिलाएपछि रोनाल्डोले जर्सी फुकालेर सेलिब्रेसन गरेका थिए । त्यसक्रममा रोनाल्डोले पहेँलो कार्ड पाए । खेलको अन्त्यतिर अल्मेरियाका जाउमा ओर्टिजमाथि फल गरेपछि रोनाल्डो दोस्रो पहँेलो कार्ड पाएर मैदान छाड्न बाध्य भए ।


रोनाल्डोले ६ सातापछि अर्काे रातो कार्ड पाए । २०१० जनवरीमा मालागाका प्याट्रिक जान टिलिंगालाई कुइनोले मुखमा प्रहार गरेपछि रेफ्रीले सीधै रातो कार्ड देखाएर रोनाल्डोलाई मैदानबाहिर पठाएका थिए । रोनाल्डोको प्रहारका कारण प्याट्रिकको मुखबाट रगतको धारा बगेको थियो । खेलपछि पत्रकारलाई प्रतिक्रिया दिएका रोनाल्डोले आफूलाई विनाकारण रातो कार्ड दिएको दाबी गरे । उनले रगत आउँदैमा रातो कार्ड दिनुपर्ने कुनै कारण नभएको बताउँदै मालागाका खेलाडीलाई होच्याउँदै भनेका थिए, ‘मालागाको बच्चो जम्मा ५ फिटको रहेछ, यदि ६ फिटको भए मेरो कुहिनो उसको छातीमा पर्ने थियो ।’ खराब व्यवहार गरेका कारण रोनाल्डोलाई थप दुई खेलमा प्रतिबन्ध लगाइयो । नयाँ पत्रिकाबाट

About Milan Shahi

Check Also

मेसीले भने रोनाल्डोसँग मित्रता हुँदैन

म्याड्रिड : अर्जेन्टिनाका कप्तान एवं चर्चित फुटबलर लियोनल मेसीले अर्का स्टार क्रिस्टियानो रोनाल्डोसँग मैदानबाहिर मित्रवत सम्बन्ध …

स्टार रोनाल्डोको कमाइ कति !

पछिल्लो पटक फिफाले क्रिस्टियानो रोनाल्डोलाई नै विश्वको उत्कृष्ट फुटबल खेलाडी घोषणा गरेको थियो । यसैक्रममा …

Leave a Reply