Home » अन्तर्राष्ट्रिय फुटबल » च्याम्पियन्स लिगमा मड्रिड डर्बी : पछिल्लो अवस्था

च्याम्पियन्स लिगमा मड्रिड डर्बी : पछिल्लो अवस्था

यो सिजनको च्याम्पियन्स लिग फुटबल अहिले उत्कर्षमा पुगेको छ । उपाधि होडमा रहेका चार क्लबबिच यो हप्ता सेमिफाइनल पहिलो लेगका खेल हुनेछ । साबिक विजेता रियल मड्रिडसहित एथ्लेटिको मड्रिड, युभेन्टस र मोनाको अन्तिम चारमा पुगेका छन् । सेमिफाइनलको पहिलो लेगमा मंगलबार राति रियल मड्रिडले घरेलु प्रतिस्पर्धी एथ्लेटिको मड्रिडसँग खेल्दैछ । च्याम्पियन्स लिग सेमिफाइनलमा हुन लागेको मड्रिड डर्बीलाई सुरक्षा चुनौती उच्च रहेको खेलका रुपमा हेरिएको छ । रियलको मैदान सान्टियागो बर्नाबेउमा हुने खेलका लागि दुई हजार भन्दा बढी सुरक्षा अधिकारी परिचालन गरिने मड्रिड सिटी सरकारले जनाएको छ । खेलको सुरक्षाका लागि नै शहरको सुरक्षा व्यवस्था पुनर्संरचना गरिएको सरकारी अधिकारीले बताएका छन् ।

इतिहास

च्याम्पियन्स लिगमा गएको वर्ष रियल मड्रिडले फाइनलमा एथ्लेटिको मड्रिडलाई हराएर उपाधि जितेको थियो । यसैले यो वर्षको सेमिफाइनललाई गएको वर्षको फाइनलको रुपमा हेरिएको छ । गएको वर्ष फाइनलमा निर्धारित तथा अतिरिक्त समयमा १–१ को बराबरी भएको थियो । त्यसपछि भएको टाइब्रेकरमा रियल मड्रिडले ५–३ ले एथ्लेटिकोलाई हराउँदै उपाधि जित्यो । त्यसअघि सन् २०१४ को फाइनलमा पनि रियलले एथ्लेटिकोलाई नै हराएर उपाधि जितेको थियो । त्यसबेला रियलले अतिरिक्त समयमा एथ्लेटिकोलाई ४–१ ले हराएर उपाधि जितेको हो । युरोपका प्रतिस्पर्धामा हुन लागेको यो पाँचौं मड्रिड डर्बी हो । युरोपका सबै प्रतियोगितामा गरेर अहिलेसम्म २८ पटक सेमिफाइनलमा पुगेको रियल लगातार सातौं पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा आएको हो । सबै प्रतियोगितामा गरेर पछिल्ला ६ खेलमा रियल मड्रिड पाँच खेलमा विजयी भएको छ भने एक खेलमा पराजित भएको छ । एथ्लेटिको मड्रिड सबै प्रतियोगितामा गरेर पछिल्ला ६ खेलमा चार खेलमा विजयी भएको छ । एक खेलमा पराजित भएको एथ्लेटिको एक खेलमा बराबरीमा रोकिएको छ ।

पछिल्लो अवस्था

पछिल्लो पटक ला लिगा अन्तर्गत गएको अप्रिलमा भएको मड्रिड डर्बीमा १–१ को बराबरी भएको थियो । पछिल्ला तीन सिजनमा रियलले एथ्लेटिकोको च्याम्पियन्स लिग सपना टुटाउँदै आएको छ । एथ्लेटिकोसँगको खेलमा रियल ग्यारेथ बेल तथा पेपे बिना मैदान उत्रने छ । युरोपका सबै प्रतियोगितामा गरेर पछिल्ला १४ खेलमा अपराजित रहेको रियल मड्रिडलाई बलियो मानिएको छ । उसले ९ खेल जितेको छ भने पाँच खेलमा बराबरी खेलेको छ । तर एथ्लेटिको मड्रिड पछिल्ला तीन सिजनको हारको बदला लिने तयारीमा रहेकाले खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । मंगलबारको सेमिफाइनलअघि ला लिगामा भएका पछिल्ला खेलमा रियल र एथ्लेटिको दुवै विजयी भएका छन् । रियलले पछिल्लो खेलमा भ्यालेन्सियालाई २–१ ले हराएको हो भने एथ्लेटिकोले लास पालमसलाई ५–० ले हराएको हो ।

प्रतिक्रिया

रियलका प्रशिक्षक जिनेदिन जिदानले आफूहरु बलियो अवस्थामा नरहेको र सम्भावना ५०–५० को अवस्थामा रहेको बताएका छन् । एथ्लेटिकोका प्रशिक्षक डिएगो सिमोनले आफू अलिअलि डराएको तर खेलअघि यस्तो हुनु सामान्य रहेको बताएका छन् । रियलले घरेलु मैदानमा थप राम्रो गर्ने भएकाले आफूहरु त्यही अनुसार तयार भएको उनले बताएका छन् । लगातार सातौं तथा समग्रमा १२ औं पटक रियलले च्याम्पियन्स लिगको सेमिफाइनल खेल्न लागेको हो । यो बार्सिलोनाको भन्दा धेरै हो । (उज्यालो)

About Milan Shahi

Check Also

हार्जाडको मूल्य सुनेर तर्सियो रियल मड्रिड, रोनाल्डोको विकल्प को ?

रियल मड्रिडका प्रशिक्षक लुजन लोपेटेगुई इडेन हार्जाडलाई नकिन्ने मनस्थितीमा पुगेका छन् । स्टार क्रिस्टियानो रोनाल्डो …

आर्सनलसँग पिएसजी ५-१ ले पराजित (भिडियोसहित)

आर्सनलले फ्रेन्च क्लब पिएसजीमाथि सहज जित निकालेको छ। इन्टरनेसनल च्याम्पियन्स कप फुटबल अन्तर्गत शनिबार सिंगापुरमा …

Leave a Reply