क्रिस्टियानो रोनाल्डोको आगमनसँगै अर्जेन्टिनी स्ट्राइकर गोन्जालो हिग्वेनले भने क्लब छाड्ने भएका छन्। हिग्वेन युभेन्टस छाडेर आगामी सिजनका लागि अर्को इटालियन क्लब एसी मिलान जाने भएका छन्।
हिग्वेन युभेन्टसबाट ऋणमा एक वर्षका लागि एसी मिलान जान लागेको जनाइएको छ। यस सम्बन्धमा हिग्वेनका भाइ निकोलासले एसी मिलानका खेलकुद निर्देशक लियोनार्दोसँग भेट गरी सम्झौता गरेका हुन्। इटालियन मिडियाले जनाएअनुसार हिग्वेनले एक वर्षको ऋणको सम्झौतापछि एसी मिलानसँगै नयाँ अनुबन्धको सम्झौता गर्ने तयारी गरेको पनि बताइएको छ।
रोनाल्डो १० लाख पाउन्डमा रियलबाट युभेन्टस अनुबन्ध भएका हुन्। चेल्सीले माउरिजियो सार्रीलाई नयाँ प्रशिक्षक नियुक्त गरेसँगै हिग्वेनलाई पनि अनुबन्धको प्रयास गरेको हो। यसअघि नापोलीमा उनै सार्रीको प्रशिक्षणमा हिग्वेन निकै चम्किएका थिए। सन् २०१५÷०१६ को सिजनमा उनै सार्रीको नेतृत्वमा हिग्वेनले टोलीका लागि ३५ खेलबाट ३६ गोल गरेका थिए।
यद्यपि चेल्सीले त्यसका लागि आधिकारिक प्रस्ताव पठाउनुअघि नै हिग्वेनले मिलान जाने सम्झौता गरेका छन्। युभेन्टसमा हिग्वेनले प्रतिसाता एक लाख ३० हजार पाउन्ड तलब पाउँदै आएका छन्।